काठमाडौँ । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८२ सालको असार १४ र २१ गते ललितपुरको भैसेपाटीस्थित वन ट्री हिल फुटसलमामा खेलिएको थियो ।
व्यावसायिक साझेदार कम्पनीहरूबीच आपसी सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १४ वटा कम्पनीका प्रतिनिधित्वमा १७ टिम सहभागी भएका थिए । ती टिमहरूलाई चार समूहमा विभाजन गरी समूह चरणका खेलहरू सञ्चालन गरिएको थियो ।
समूह चरणपछि समूह ‘ए’ बाट अक्वोर सफ्टवेयर प्रा.लि. र आइएमई लिमिटेड, समूह ‘बी’ बाट अप्टिनेट सोलुसन प्रा.लि. र आइएमई कोअपरेटिभ प्रा.लि., समूह ‘सी’ बाट नेपाल डिजिटल सर्भिस प्रा.लि. र सिजी कम्युनिकेसन लिमिटेड तथा समूह ‘डी’ बाट डिशहोम इन्टरनेट र एमनिल टेक्नोलोजी प्रा.लि. क्वाटरफाइनलमा प्रवेश गर्न सफल भए।
क्वाटरफाइनलपछि आइएमई कोअपरेटिभ, नेपाल डिजिटल सर्भिस, अप्टिनेट सोलुसन र सिजी कम्युनिकेसन सेमिफाइनलमा पुगे । तीमध्ये सिजी कम्युनिकेसन र नेपाल डिजिटल सर्भिस ले फाइनलको यात्रा तय गरे।
‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नारासहित आयोजित फाइनल खेलमा सिजी कम्युनिकेसन लिमिटेड ले नेपाल डिजिटल सर्भिस प्रा.लि. लाई पराजित गर्दै उपाधि जित्न सफल भयो । सिजी का खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै अग्रता बनाएका थिए, जसलाई दोस्रो हाफमा थप गोल गरेर जितमा परिणत गरे ।
तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसन ले आइएमई कोअपरेटिभ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।
विजेता सिजी कम्युनिकेसन, उपविजेता नेपाल डिजिटल सर्भिस र तेस्रो स्थान प्राप्त अप्टिनेट सोलुसन ले क्रमशः नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट खेलाडीको रूपमा अप्टिनेट सोलुसन का धिरज बास्कोटा र उत्कृष्ट गोलकिपरको रूपमा सिजी कम्युनिकेसनका लोकेन्द्र तामाङ चयन भए।
समापन समारोहमा डिशहोम का प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले विजयी टिमहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो। डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउन यस्ता प्रतियोगिता नियमित आयोजना गर्ने घोषणा गरेको छ।


































