काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।
ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिवाना तोकेका हुन्।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। बिहीबार प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजालाई भेटेसँगै राजसंस्था पुनर्स्थापनाका लागि भन्दै कमाण्डर दुर्गा प्रसाँइलाइ तोकिएको थियो।
प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।
आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए।प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो।
शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।
शुक्रबार तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।

































