काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरूले झण्डै ४९ अर्ब रुपैयाँको दाबी भुक्तानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म १४ जीवन बीमा कम्पनीहरूले विभिन्न दाबी बापत आफ्ना बीमितहरुलाई उक्त रकम भुक्तानी गरेको बीमा प्राधिकरणले उल्लेख गरेको छ ।
बीमा कम्पनीहरूले चालु आवको वैशाख मसान्तसम्मको अवधिमा ४८ अर्ब ९५ करोड रुपैयाँको दाबी भुक्तानी गरेका हुन्। यो अवधिमा बीमा कम्पनीले आफ्ना बीमितबाट आएका २ लाख १८ हजार ९५१ वटा दाबीको भुक्तानी गरेका छन्।
कम्पनीहरूको दाबी गत आवको सोही अवधिको तुलनामा भने ३.३८ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा जीवन बीमा कम्पनीहरूले २ लाख ४८ हजार ९९९ वटा बीमा दाबी बापत ५० अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका थिए ।
त्यस्तै, चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५४ करोड रुपैयाँको दाबी भुक्तानी दिन बाँकी रहेको तत्थांकमा उल्लेख छ। कम्पनीहरुले ५३ हजार ४८१ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ ।


































