काठमाडौँ। यस वर्षको दसैँ लगायतका चार्ड पर्वका लागि अग्रिम टिकट बुकिङ १२ गते शनिवारका दिनदेखि खुला हुने भएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात विभागबिच बसेको बैठकपछि यस वर्षको दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने सहमति भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन् ।
यसअघि दसैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भए पनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन। व्यवस्थित र सुरक्षित यात्राका लागि सवारी चाप र सुरक्षालाई समेत मध्यनजर गर्दै पुरानै भाडा दरमा सहमति जुटेको हो ।
यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ।

































