काठमाडौँ । हिन्दु नेपालीहरूको मुख्य चार्ड दसैँ नजिकिएसँगै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिले खुल्छ भन्ने चासो बढेको छ । प्रत्येक वर्ष सरकारले दसैँ सुरु हुनु भन्दा एक साता अगाडि नै टिकटको अग्रिम बुकिङ खोल्ने गरेको भए पनि यस वर्ष भने कहिले खुल्छ भन्ने जिज्ञासाको अझै सम्बोधन हुन सकेको छैन ।
यात्रुको सहजताका लागि यातायात व्यवस्था विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायत सरोकारवालाहरूसँग छलफल गरेर देशभर जाने सार्वजनिक बसको टिकट अग्रिम बुकिङ गर्न पाउने व्यवस्था हरेक वर्ष गर्दै आएको छ। तर यस वर्षको दसैँ असोज ६ गतेदेखि सुरु हुँदै छ।
तर अग्रिम बुकिङ खुलाउने गरी यातायात व्यवस्था विभागले सरोकारवालासँग छलफल थालिएको भने पनि निचोडमा पुग्न नसकेको व्यवसायीहरूको भनाई छ। केही दिनअघि यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभाग लगायतसँग अनौपचारिक छलफल भए पनि अग्रिम बुकिङ खुलाउने सन्दर्भमा निचोड हुन नसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।
''अहिले बर्खा सकिएको छैन , मनसुनको समय छ टाढाको बाटो जोखिम मोलेरै पठाउने कुरा आएन औपचारिक कुरा हुन बाकी नै छ । महिना सकियोस मौसमको अवस्थामा फेरबदल देखिएला त्यसपश्चात् मात्रै यस विषयमा निर्णय लिन सकिन्छ।" उपाध्यक्ष सिटौलाले भने अग्रिम टिकट बुकिङ खुलाउन समस्या होइन हामी त सरकारले निर्देशन गर्ने हो भने अहिले पनि हामी तयार छौ तर बाटोको अवस्था सुधार गर्नु अनिवार्य छ , मान्छेको जिन्दगीको सवालको कुरा छ रहरले मात्रै पठाएर भएन यसमा सबै पक्ष गम्भीर हुन आवश्यक छ।" सिटौलाले थपे ।
मनसुन रहँदै यो वर्षको दसैँ पर्ने भएकाले सरकारले सडक मर्मतमा तीव्रता दिनुपर्ने सार्वजनिक यातायात व्यवसायीको भनाई छ। सरकारले सडक मर्मत सम्भार गर्न सके आफूहरूले टिकट खुलाउन कुनै समस्या नरहेको व्यवसायीहरूको धारणा छ । ‘सबैभन्दा पहिले बर्खाले बिगारेको बाटो बनाउन सडक विभाग र सरकारी निकायहरूले चासो दिनुपर्यो। काठमाडौंबाटो जाने मुख्य राजमार्गसँगै देशका क्षेत्रीय सहरबाट गाउँ गाउँ जाने बाटो पनि बनाउनुपर्ने आवश्यकता छ,’ अझै पानी पर्ने अनुमानहरू भइरहेका छन्। त्यो हेरेर बाटो सहज भयो भने अग्रिम टिकट बुकिङ खुलाउन कुनै समस्या छैन।’ उपाध्यक्ष सिटौलाले भने
यातायात व्यवसायीहरूको विषयमा राज्य निदाएको आरोप लगाउँदै राज्यले व्यवसायीको पिडा र समस्या देखिन्छ भनेर आँखामा पत्ति कसेर बसेको व्यवसायीको भनाई छ । तर जनतालाई घर पुर्याउने कुरामा व्यवसायीहरू विगतमा पनि सफल भएको र अहिले पनि त्यो काममा कुनै शंका नरहने व्यवसायीहरूको भनाई छ तर यसको लागी व्यवसायी मात्रै चिन्तित नभएर सरकारले समेत पर्वलक्षित सडक मर्मत सम्भारका काममा ध्यान दिन र व्यवसायीको मर्का पनि बुझ्न आवश्यक रहेको सिटौलाको भनाई छ।
यातायात व्यवसायी राज्य विहीन जस्तो भएको छ। हाम्रो समस्या र पीडा राज्यलाई थाहा हुँदैन यस वर्ष भाडाको सन्दर्भमा हामीले जवाफ दिने ठाउँ नै छैन । यो विषयमा सरकारले जवाफ दिन आवश्यक होला, हामीलाई भाडाको विषयमा पटक पटक बदनाम गर्ने काम भएको छ । यसमा सरकारले के निर्णय गर्नुपर्छ सरकारले जानोस् , हामीलाई सबैतिरबाट अप्ठ्यारो पार्ने काम भएको छ । हामीले १८ देखि २० लाख नागरिकलाई पठाउने कुरामा चिन्तित र होमवर्क गदैछौ । हामी जनताप्रति उत्तरदायी छौ । तर व्यवसायीको पिडाको सरकारको उपस्थिति शून्य छ हामी सरकार छ र भनेर खोज्ने ठाउँमा आएका छौ । निराशाको भावमा उपाध्यक्ष सिटौलाले भने ।
साथै, यस वर्षको अग्रिम टिकट बुकिङ गर्ने विषयमा सरकारले कुनै कार्यविधि नबनाएको कारण व्यवसायीले जवाफ दिने ठाउँ नभएको सिटौलाको भनाई छ । दसैँमा काठमाडौँलगायत देशका अन्य सहरहरूबाट पनि लाखौँको सङ्ख्यामा यात्रुहरू गाउँ जाने भएकाले नयाँ बससमेत खरिद गर्ने गरेका छन्। विगत केही वर्षयता व्यवसायीले नयाँ बस खरिद नगरेकाले यो वर्ष नयाँ बस राम्रै सङ्ख्यामा खरिद हुने अनुमान गरिएको छ।


































