काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग आज बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख साहले नागरिकहरूलाई आफ्नो जीवन, घर, सम्पत्ति, कृषिबाली र पशुपन्छीको बीमा गरेर आर्थिक सुरक्षण गर्न आग्रह गर्नुहुँदै दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपमहानगरपालिकाले राहत लागि छुट्याएको बजेटबाट न्युन आय भएका विपन्न बर्गको बीमा गर्ने व्यवस्था गर्न र उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको शुरूवात गर्न आग्रह गरे ।
बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले मैथिली भाषामा कार्यक्रम संचालन गर्नुहुँदै बीमाको महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमा बजारको अवस्था, विद्यमान चुनौती, बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन आलटाल गर्ने गरेको, कतिपय बीमा कम्पनीले दाबी भुक्तानी दिन एक वर्षसम्म लगाउने गरेको, कम्पनीहरूले पटक पटक नियम परिवर्तन गर्ने गरेको लगायतका धारणा राखेका थिए भने जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, नेपाली बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी, महिला समूह र अगृवा कृषकहरू लगायत गरी करिव २ सय ५० जनाले कार्यक्रममा सहभागिता जनाए ।
त्यस्तै, मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवसँग आज बीमा सम्बन्धी समसामयिक विषयमा छलफल भएको छ । साही अवसरमा मधेश प्रदेशमा बीमाको आवश्यकता, बीमा बजारको विद्यमान अवस्था, देखिएका चुनौती, बीमा क्षेत्रको विकास र पहुँच विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।
मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि आवश्यक व्यवस्था गरिने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले मधेश प्रदेशमा बीमाको पहुँच न्यून रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा बीमालाई समावेश गरी बीमा क्षेत्रको विकास र एवम् विस्तारलाई प्राथमिकता दिन आग्रह गरे ।
सो अवसरमा मधेश प्रदेश सचिव सुवास चन्द्र शिवाकोटी, नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल, प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा लगायतले सहभागिता जनाए ।


































