काठमाडौँ । नक्कली कागजात प्रकरणमा सामेल भएको भन्दै नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको पत्र काटेको छ ।
निलम्बन पर्नेमा यात्रु सेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागले जनाएको छ ।
नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा पोखरेल र यादव गत मङ्सिर १९ गते पक्राउ परेका थिए । प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरूलाई निलम्बनको पत्र काटिएको निगमको भनाई छ ।
केही दिन अगाडी अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा भएको थियो ।


































