काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ जना मध्यमा एक जनाको उम्मेदवारी खारेज भएको छ।
उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो सोही मध्यमा एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन रद्ध गरिएको हो । सोमबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको अधिकारीको भनाई छ।
उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको मध्येमा ४१ जना पुरूष र २ जना महिला थिए । तर, ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको नाम मात्रै सार्वजनिक गरिएको सचिव अधिकारीको भनाई छ ।
४२ जनामध्येबाट १४ जनाको नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेकाहरू १४ जनाको आजदेखि प्रस्तुतीकरण सुरू भएको छ।आज सर्टलिष्टमा परेका ४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको कार्यक्रम रहेको छ ।


































