काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले यस अवधिमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो ।
यस समिक्षा अवधिमा कोषले २ अर्ब ९ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ८.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ९२ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कोषले आर्जन गरेको कुल आम्दानीमा ३३ करोड ७४ लाख ब्याज आम्दानी, १ अर्ब ६५ करोड सेवा शुल्क तथा कमिसन आम्दानी र १० करोड ६४ लाख रुपैयाँबराबरको विविध आम्दानी रहेको छ । कोषको कुल खर्च ६.७६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४५ करोड ५० लाख रुपैयाँ रहेको कुल खर्च घटेर ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
यस समिक्षा अवधिमा कोषले २ खर्ब ८९ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ५८ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ७८ करोड ८७ लाख ,समयकालिन कर्जामा २६ अर्ब ३८ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ८२ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौज्दात ६ अर्ब १५ करोड र चालु सम्पत्ति २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार २० अर्ब ११ करोड रुपैयाँबराबर रहेको छ ।
यस अवधिसम्म कोषको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ , लगानी प्रतिफल ५.६८ प्रतिशत र प्रतिसेयर आम्दानी १९.३४ रुपैयाँ रहेको छ ।































