काठमाडौँ । पछिल्लो समय नेपालमा वैदेशिक सहायता आउने क्रम मा गिरावट आएको छ । अर्थ मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो, तर सो मध्ये केवल २३ अर्ब ५३ करोड रुपैयाँ मात्र प्राप्त भएको छ।
यो कुल लक्ष्यको केवल ३२.६२ प्रतिशत हो।
यस वर्षको तुलनामा अनुदान प्राप्तिमा २.०४ प्रतिशतले गिरावट आएको मन्त्रालयले जनाएको छ। यस्तै, वैदेशिक ऋणतर्फ पनि सरकारको प्राप्ति दर घटेको छ। २०८१/८२ मा सरकारले २ खर्ब १७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेकोमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्र लिन सकेको छ, जुन कुल लक्ष्यको ५७.७८ प्रतिशत हो।
२०८०/८१ मा भने २ खर्ब १२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्यमा सरकार १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ ऋण लिन सफल भएको थियो, जसले ५९.०७ प्रतिशत लक्ष्य पूरा भएको देखाउँछ। यस आधारमा चालु आवमा ऋण प्राप्ति दर ०.२१ प्रतिशतले घटेको हो।
कुल वैदेशिक सहायता (अनुदान र ऋण) तर्फ हेर्दा, २०८१/८२ मा सरकारको २ खर्ब ६९ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य थियो। तर प्राप्ति १ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित रह्यो, जुन लक्ष्यको ५५.१५ प्रतिशत मात्र हो। गत आर्थिक वर्षमा भने २ खर्ब ६२ अर्ब रुपैयाँ सहायता प्राप्त गर्ने लक्ष्य थियो, जसमा १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ प्राप्त भएको थियो। त्यो लक्ष्यको ५६.९८ प्रतिशत हो।


































