काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नेपाल सरकारले हालै जारी गरेको नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौं संशोधन) नियमावली, २०८२ प्रति गम्भीर आपत्ति जनाएको छ। संघले उक्त प्रावधानले चार्टर्ड एकाउन्टेन्ट (सीए) को योग्यता, मर्यादा र व्यावसायिक हैसियतलाई अवमूल्यन गरेको जनाएको हो।
संघद्वारा जारी ध्यानाकर्षण पत्रमा अन्तर्राष्ट्रिय मान्यता अनुसार सीए उच्च बौद्धिक योग्यता भएको पेशा भए पनि संशोधित नियमावलीमा सहायक तहसरह सीमित गरिनु अव्यावहारिक र विभेदकारी भएको उल्लेख छ। यस्तो व्यवस्थाले दक्ष जनशक्तिको उपयोगभन्दा पनि निरुत्साह पैदा गर्ने संघको ठहर छ।
संघले सीए जस्तो विशेषज्ञ जनशक्तिलाई नीति निर्माण तथा उच्च जिम्मेवारीका तहमा प्रयोग गर्नुपर्नेमा उल्टै प्रवेशका अवसर संकुचित गरिएको भन्दै असन्तुष्टि जनाएको छ। यसले दीर्घकालमा राज्यको वित्तीय सुशासन र आर्थिक व्यवस्थापनमै असर पर्ने चेतावनी समेत दिइएको छ।
‘ब्रेन ड्रेन’ बढ्ने चिन्ता
संघका अनुसार यस्ता निर्णयले स्वदेशमै रहेका दक्ष जनशक्तिको मनोबल घट्ने र विदेश पलायन बढ्ने जोखिम छ। समयमा सच्याउन नसके यसले आर्थिक विकासमा गम्भीर प्रभाव पार्ने उल्लेख गरिएको छ।
नियमावली सच्याउन माग
संघले अन्तर्राष्ट्रिय अभ्यास र शैक्षिक मान्यता अनुरूप सीएहरुको पेशागत सम्मान सुनिश्चित हुने गरी नियमावली पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ। अन्यथा सदस्यहरूको हकहित र पेशागत मर्यादा जोगाउन थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिइएको छ।



































