काठमाडौँ। जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनासम्ममा कुल साढे ६५ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन्।
बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरूले १ करोड ३३ लाख ४२ हजार २४६ वटा बीमा पोलिसी बिक्री गरी ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमकहरुको व्यापार ६.४७ प्रतिशतले बढेको छ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलेले सबैभन्दा बढी कारोबार गरेको छ । यस अवधिमा कम्पनीले १८ अर्ब ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफ कम्पनीको ७ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
क्रमशः नेशनल लाइफ इन्सोरेन्सले ७ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। भने हिमालयन लाइफ इन्सोरेन्सले पाँच महिनाको अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, बीमा प्राधिकरणको तथ्यांक अनुसार सूर्य ज्योति लाइफले ३ अर्ब ९९ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब ३३ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६५ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
यता, मेट लाइफले २ अर्ब ३३ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड रुपैयाँ, रिलायबल नेपालले १ अर्ब ९२ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


































