काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा वस्तु निर्यात ५८.२ प्रतिशतले बढ्दै १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशतमा सीमित रहेको थियो।
गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात सबैभन्दा बढी ८२.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले बढेको देखिन्छ। तर चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य सामग्री, जुत्ता तथा चप्पलजस्ता वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। यद्यपि जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा भने कमी आएको छ।
यसै अवधिमा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर ३.० प्रतिशत मात्रै थियो। आयात हुने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट हुने आयात क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत रूपमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन तथा दालजस्ता वस्तुको आयात घटेको देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११.१ प्रतिशत रहेको थियो।
यस अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७२ अर्ब ८४ करोड रुपैयाँ बराबरको रहेको थियो।
समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.८ प्रतिशत, मध्यवर्ती वस्तुको २९.६ प्रतिशत र पुँजीगत वस्तुको ०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपात क्रमशः ५५.० प्रतिशत, ४४.१ प्रतिशत र ०.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।


































