National life

प्रभु म्यानेजमेन्टको ठगी प्रकरण : सीआईबी समक्ष के भने पूर्व अध्यक्ष भट्टचनले ? (पूर्णपाठ )

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
584Shares
प्रभु म्यानेजमेन्टको ठगी प्रकरण : सीआईबी समक्ष के भने पूर्व अध्यक्ष भट्टचनले ? (पूर्णपाठ )
ncell

काठमाडौँ  । प्रभु बैंक र प्रभु म्यानेजमेन्टका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले सहकारी संस्थाले प्रभु म्यानेजमेन्टमा राखेको धरौटी र रेमिट्यान्स रकमको भुक्तानी दायित्व प्रभु म्यानेजमेन्टको भएको बताएका छन्।

प्रभु मनि ट्रान्सफरको सुपर एजेन्ट प्रभु म्यानेजमेन्टले देशभरका ३ हजार ७ सय ९४ सहकारीबाट धरौटी रकम लिएको खुल्न आएको छ। उक्त रकम फिर्ता नगरेको र रेमिट्यान्स भुक्तानी नभएको भन्दै ३७ सहकारीले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि सीआईबीले अनुसन्धान गर्न भन्दै प्रभु म्यानेजमेन्टका पूर्व अध्यक्ष भट्टचनलाई बयानका लागि केही दिन अगाडि बोलाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भट्टचनले सीआईबीमा दिएको बयानमा सहकारीको रकम भुक्तानी गर्ने दायित्व प्रभु म्यानेजमेन्टको भएको स्पष्ट पारेका छन्। उनले बताए अनुसार, प्रभु मनि ट्रान्सफरले रेमिट्यान्सको रकम कारोबार भएको वा भोलिपल्ट नै सेटल हुने गरेको बताएका छन् ।  भट्टचनले भने, “मैले २०७१ पुस १३ गते प्रभु म्यानेजमेन्ट छाडिसकेको हुँदा सोपश्चातको खाताको कारोबारमा मलाई जानकारी भएन। सो सम्बन्धमा प्रभु म्यानेजमेन्टका सञ्चालक तथा सेयरधनी कुसुम लामा र खातासंचालकलाई जानकारी होला।”

भट्टचनले थप भनेका छन् प्रभु मनि ट्रान्सफरले विप्रेषणको भुक्तानी दिनुपर्ने सम्पूर्ण रकम प्रभु म्यानेजमेन्टलाई उपलब्ध गराइसकेको छ। त्यसैले सम्बन्धित सहकारी संस्थालाई भुक्तानी दिने जिम्मेवारी अब प्रभु म्यानेजमेन्टको हो।

पूर्व अध्यक्ष भट्टचनले बयानमा आफ्नो व्यक्तिगत लाभ नभएको दाबी गरेका छन्। तर, सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदन अनुसार, भट्टचनले प्रभु म्यानेजमेन्टको खाताबाट सन् २०१८ देखि सन् २०२१ सम्म १३ करोड ८ लाख ९० हजार रुपैयाँ भुक्तानी लिएको देखिएको छ। सोही खातामा उनीहरूले ५ करोड १० लाख रुपैयाँ जम्मा गरेको समेत उल्लेख छ।

भट्टचनले नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार प्रभु म्यानेजमेन्टलाई सुपर एजेन्ट नियुक्त गरिएको र त्यसअघि अन्य तह वा संरचना बनाएर विप्रेषण कारोबार गर्ने अनुमति नहुने व्यवस्था नभएकाले मात्र यो नियुक्ति गरिएको दाबी गरेका छन्।

उनका अनुसार “तत्कालीन समयमा हिमालयन बैंकले कन्टिनेन्टल फाइनान्सियल कम्पनीहरूलाई सब–एजेन्ट मोडलमा काम गर्ने गरेकोले प्रभु म्यानेजमेन्टलाई जिम्मा दिइएको हो। नेपाल राष्ट्र बैंकले २०८१ सालमा निरीक्षण गर्दा सुधार गर्नु पर्ने देखाएर कारोबार बन्द गर्नु अघि सबै प्रक्रिया सम्पन्न भएको थियो।”

भट्टचनले आफ्नो बयानमा भनेका छन् 'रेमिट्यान्स कारोबार बाहेक अन्य कुनै कारोबारमा प्रभु मनि ट्रान्सफरको कुनै संलग्नता छैन।' विप्रेषण भुक्तानी सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रभु म्यानेजमेन्टको रहेको र यसका लागि सहकारी संस्थाले आफूले माग्नुपर्ने रकम माग नगरेको अवस्थामा पनि दोष सहकारी र म्यानेजमेन्ट दुवैको हुने बताएका छन्।

पूर्व अध्यक्ष भट्टचनले प्रभु मनि ट्रान्सफरले भुक्तानीको लागि आवश्यक रकम प्रभु म्यानेजमेन्टलाई पठाइसकेको र अब भुक्तानीको जिम्मेवारी पूर्ण रूपमा प्रभु म्यानेजमेन्टको हातमा रहेको छ दाबी गरेका छन् ।

                   देवीप्रकाश भट्टचनको बयानको पूर्णपाठ

प्रभु म्यानेजमेन्ट प्रा.लि. २०६९/०२/२१ गते विभिन्न उद्देश्यहरु लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई स्थापना भएको कम्पनी हो । प्रभु म्यानेजमेन्ट प्रा.लि., प्रभु मनी ट्रान्सफरको एजेन्ट भई विप्रेषणको भुक्तानी दिने कार्य सुरु गरेको हो । स्थापनाकालमा म देवीप्रकाश भट्टचनको रु. ५०,००,०००/–, विनोद थकाली– रु. २०,००,०००।–, कुसुम लामा– रु.२०,००,०००/–, दक्ष पौडेल सुभाष रु. १०,००,०००।– लगानी गरी कम्पनी स्थापना भएको हो । स्थापनाकालमा बिनोद थकाली अध्यक्ष थिए । मितिः २०७०/०१/५ देखि २०७१/०९/१३सम्म अध्यक्ष रहेको थिएँ । सोपश्चात मैले आफ्नो नामको सेयर मिजाश भट्टचनको नाममा नामसारी गरी दिई मैले प्रभु म्यानेजमेन्ट छाडेको हुँ । प्रभु ग्रुप अन्तर्गत प्रभु मनी ट्रान्सफर, प्रभु बैंक लि., प्रभु महालक्ष्मी इन्स्योरेन्स लि. रहेका छन् । म प्रभु बैंक लि. मा २०७१ साल देखि २०७७ सालसम्म प्रभु बैंक लि.को सञ्चालक समितिको अध्यक्ष भई काम गरेको थिएँ ।

प्रभु मनी ट्रान्सफर प्रा.लि.ले सम्बन्धित देशमा केन्द्रीय बैंकबाट लाइसेन्स प्राप्त मनी ट्रान्सफरसँग विप्रेषण भित्र्याउनको लागि सम्झौता गरेको छ । सोही सम्झौता अनुसार नेपालमा रकम पठाउन चाहने व्यक्ति सम्बन्धित देशमा केन्द्रीय बैंकबाट लाइसेन्स प्राप्त मनी ट्रान्सफरमा गई रकम जम्मा गर्ने गर्छन । सो मनी ट्रान्सफरले पैसा प्राप्त गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नं. र कोड नं. प्रभु मनी ट्रान्सफरको सिस्टममा पठाउँछ । सो कोड नं. लिई आउने व्यक्तिलाई प्रभु मनी ट्रान्सफरका एजेन्टहरुले पैसा प्राप्त गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नं. र कोड नं. एकिन गरी भुक्तानी दिने गर्दछ ।

विदेशी एजेन्टहरुले विप्रेषण वापतको सोधभर्ना प्रभु मनी ट्रान्सफरको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. र प्रभु बैंक लि.को खातामा रकम जम्मा गरिदिने गर्दछन् । प्रभु मनी ट्रान्सफरको विप्रेषण भुक्तानीको लागि हाल के कति सब–एजेन्टहरु छन् । हाल मलाई एकिन छैन । स–एजेन्टहरु थपघट भइरहेका हुन्छन् । विप्रेषण भुक्तानी वापतको रकम सब–एजेन्टले भुक्तानी दिएको दिनको भोलिपल्ट दिइने गरिन्छ । भोलिपल्ट बिदा परेमा कार्यालय खुलेको दिनमा भुक्तानी दिने गरिन्छ । प्रभु मनि ट्रानसफर प्रा.लि.मा २०१५ जुन ८मा प्रभु मनी ट्रान्सफरको जिम्मेवारी बाँडफाड गरी आफूलाई ‘अल अफिस म्याटर्स’ भनी जिम्मेवार बनाएको देखिने पत्र देखाउँदा देखे । उक्त पत्रमा जिम्मेवारी बाडफाँड गर्ने व्यक्ति म नै हुँ । सो मा भएको दस्तखत मेरो आफ्नै हो । मैले आफूलाई प्रभु मनी ट्रान्सफर प्रा.लि.को सम्पूर्ण काम गर्ने अधिकार तोकेको हुँ । मसँगै रामेश्वर सापकोटालाई कार्यालयको सम्पूर्ण काम गर्ने गरी तोकेको थिएँ । सो बाहेक अन्य कर्मचारीहरुलाई समेत कार्यालय सुव्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अधिकार प्रत्यायोजन गरी जिम्मेवारी तोकेको हुँ । मैले प्रभु मनी ट्रान्सफर प्रा.लि.को सम्पूर्ण दैनिक काम कारबाहीको अधिकार नायव महाप्रबन्धक रामेश्वर सापकोटालाई दिएको थिएँ । सोही अनुसार निज रामेश्वर सापकोटाले करार नियम अनुसार प्रभु म्यानेजमेन्ट प्रा.लि. र प्रभु मनी ट्रान्सफर प्रा.लि.को सहमतिमा प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई सुपर एजेन्टको रूपमा सम्झौता गरेको हुनुपर्छ ।

कम्पनीमा रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा मनि ट्रान्सफर कम्पनी तथा आन्तरिक मनि ट्रान्सफर कम्पनीको सब–एजेन्ट भई काम गर्ने भनी प्रभु म्यानेजमेन्ट कम्पनी दर्ता भएको हुँदा एजेन्ट भई काम गर्न सक्दछ । तत्कालीन समयमा हिमालयन बैंक लि.ले पनि कन्टिनेन्टल फाइनान्सियल कम्पनीहरुलाई सोही मोडलमा सब–एजेन्ट नियुक्त गरी काम गर्ने गरेको हुँदा सोही अनुसार प्रभु म्यानेजमेन्टलाई जिम्मा दिइएको हो । मनि ट्रान्सफर कम्पनीले सब–एजेन्ट / सब–रिप्रेजेन्टेटिभ बीचमा अन्य तह वा संरचना बनाई विप्रेषणको कारोबार गर्न पाउने/नपाउने विषयमा नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट मितिः २०८१/०६/३० गते जारी संशोधन “एकिकृत परिपत्र– २४ / २०८० मा संशोधन / परिमार्जन / थप“ को क्र.स. ३२ (१) मा विद्यमान अवस्था खण्डमा “(हाल नभएको)” र संशोधित व्यवस्था खण्डमा “नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३५(१) को व्यवस्था बाहेक इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी र सब एजेन्ट / सब–रिप्रेजेन्टेटिभ बीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन भनी संसोधन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट २०८१ सालको बैसाख / जेष्ठमा प्रभु मनी ट्रान्सफरको निरीक्षणको क्रममा सो सम्बन्धमा सुधार गर्नु भने पश्चात सो संसोधन जारी अगावै मितिः २०८१/०३ / १५ गते देखि प्रभु म्यानेज्मेन्ट प्रा.लि.सँगको कारोबारलाई बन्द गरिएको थियो ।

प्रभु मनी ट्रान्सफर प्रा.लि. र प्रभु म्यानेजमेन्ट प्रा.लि. विच रेमिट्यान्स कारोबार गर्ने सम्झौता प्रभु मनी ट्रान्सफर प्रा.लि.का अधिकार प्राप्त व्यक्ति रामेश्वर सापकोटाले गरेका हुन् । सम्झौताको लागि अधिकार प्रत्यायोजन गरिसकेको हुँदा सो बिषयमा मलाई धेरै जानकारी भएन । प्रभु मनी ट्रान्सफर प्रा.लि. र प्रभु म्यानेजमेन्ट प्रा.लि. बीच रेमिट्यान्स कारोबार बाहेक अन्य कारोबार तथा लेनदेन हुने गरेको थिएन । निज कुसुम लामा प्रभु टेक्नोलोजी प्रा.लि.को स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृत भई काम गरेकी थिईन् । सो समयमा प्रभु म्यनेजमेण्टको समेत ४० प्रतिशत सेयर प्रभु टेक्नोलोजी प्रा.लि. मा रहेको थियो । सोकारण निज कुसुम लामाले एनसेल र वल्र्डलिंसँग प्रभु टेक्नोलोजी प्रा.लि बिक्री गर्ने प्रकृया सुरु गरेकी थिईन् । निज कुसुम लामासँग मेजोरिटी सेयर नभएको कारण राम्रो मुल्यमा बिक्री हुन नसक्ने कारण देखाई प्रभु टेक्नोलोजी प्रा.लि.मा रहेको मेरो नामको सेयर निज कुसुम लामा र निजको कम्पनी प्रभु म्यानेजमेन्टले खरिद गरेको हो ।

मैले प्रभु म्यानेजमेन्ट प्रा.लि. २०७१/०९/१३ मा छाडिसके पश्चात भएका कारोबारहरुको सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन । मैले प्रभु म्यानेजमेन्ट प्रा.लि. छोडिसकेको हुँदा सो सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन । मैले प्रभु म्यानेजमेन्टबाट रु.६,३१,२४,२६८.२२/– लिएको छैन । मितिः २०७१/०९/१३ गते (सन् २०१४ डिसेम्बर) प्रभु म्यानेजमेन्ट प्रा.लि. छाडिसके पश्चात मिसिल संलग्न रहेको प्रभु म्यानेजमेन्ट प्रा.लिको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि.मा रहेको खाता नं. ००१०१०१०२९३६८६ को स्टेटमेण्टको विश्लेषण गर्दा सन् २०१८ देखि सन् २०२१ सम्ममा देवीप्रकाश भट्टचनले प्रभु म्यानेजमेन्ट प्रा.लिको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि.मा रहेको खाताबाट रु. १३,०८,९०,०००/– (तेह्र करोड आठ लाख नब्बे हजार) भुक्तानी लिएको देखिएको र सोही खातामा देवीप्रकाश भट्टचनले रु. ५,१०,००,०००/– (पाँच करोड दस लाख) जम्मा गरेको सम्बन्धमा सन् २०१८ देखि सन् २०२१ सम्मको प्रभु म्यानेजमेन्ट प्रा.लि.को वासलात हेरेर मात्र भन्न सक्छु ।

सम्बन्धित व्यक्तिले विप्रेषण वापतको रकम भुक्तानी पाउनु पर्ने हुन्छ । प्रभु मनी ट्रान्सफर मार्फत आएको विप्रेषणको रकम भुक्तानीको लागि प्रभु मनी ट्रान्सफरले सोही दिन र सो दिन कारणबस नभएमा सो दिनको भोलिपल्ट प्रभु म्यानेजमेन्टलाई भुक्तानीको लागि पठाईसकेको हुन्छ । प्रभु म्यानेजमेन्ट प्रा.लि. र सहकारी संस्थाहरु विचको सम्झौता अनुसार प्रभु म्यानेजमेन्ट प्रा.लि. ले सहकारी संस्थाहरुलाई समेत सोही दिन सोही दिन र सो दिन कारणबस नभएमा सो दिनको भोलिपल्ट भुक्तानी दिनु पर्नेमा प्रभु म्यानेजमेन्टले प्रभु मनी ट्रान्सफरसँग भुक्तनी लिएर सहकारीसंस्थालाई भुक्तानी नदिने कार्यमा प्रभु मनि ट्रान्सफररको कुनै संलग्नता र दोष छैन । भुक्तानी पाउने सहकारी संस्थाले सोही दिन र सोही दिनको भोलिपल्टसम्म भुक्तानी नपाए पश्चात रकम माग गर्नु पर्नेमा सो रकम सहकारी संस्थाहरुले माग नगर्नुमा सहकारी संस्थाहरु समेतको गल्ती देखिन्छ । सहकारी संस्थाहरुले धरौटी रकम जम्मा गर्नुपर्ने कुनै व्यवस्था छैन । प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई भुक्तानी गरी सकेको र भुक्तानी पाउने हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाले सोही दिन र सोही दिनको भोलिपल्टसम्म भुक्तानी नपाए पश्चात रकम माग गर्नु पर्नेमा सो रकम हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाले माग नगर्नुमा हंस बहुउद्देशीय सहकारी सहकारी संस्थाको पनि गल्ती देखिन्छ ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ आउनुभन्दा अगाडी प्रभु मनी ट्रान्सफर जस्ता अन्य कम्पनीहरुले समेत विभिन्न शिर्षकमा लगानी गरेकोमा नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ आए पश्चात क्रमागत रुपमा विनियमावली अनुसारको कारोबार गर्ने निर्देशन अनुसारको कारोबार मिलाउदै आएको छ । सम्बन्धित व्यक्तिले विप्रेषण वापतको रकम भुक्तानी पाउनु पर्ने हुन्छ । प्रभु मनी ट्रान्सफरले प्रभु म्यानेजमेन्टलाई विप्रेषण वापतको रकम अर्को दिनमा भुक्तानी गर्ने गरेको हुन्छ । प्रभु म्यानेजमेन्टले सम्बन्धित सहकारी संस्थाहरुलाई भुक्तानी गर्नु पर्ने दायित्व हुन्छ र सम्बन्धित सहकारी संस्थाहरुले प्रभु म्यानेजमेन्टसँग भुक्तानी पाउनु पर्ने हुन्छ र सहकारीले भुक्तानी नपाएमा प्रभु म्यानेजमेन्टलाई अनुरोध गरी हिसाब किताब राफसाफ गर्ने दायित्व सम्बन्धित सहकारी संस्था र प्रभु म्यानेजमेन्ट प्रा.लि.को हो ।

उल्लेखित जाहेरवालाहरुलाई मैले चिनेको छैन । उल्लेखित जाहेरवालाहरुले प्रभु म्यानेजमेन्ट प्रा.लि.सँग विप्रेषण कारोबारको लागि सम्झौता गरी कारोबार गरेको हुनसक्छ । मैले २०७१/०९/१३ मा प्रभु म्यानेजमेन्ट प्रा.लि. छोडिसकेको हुँदा सो कारोबारको सम्बन्धमा मलाई जानकारी छैन । प्रभु म्यानेजमेन्ट प्रा.लि. ले विप्रेषण वापतको भुक्तानी पाउने सम्पूर्ण रकम प्रभु मनी ट्रान्सफरले पाईसकेको हुँदा सो सम्बन्धमा प्रभु म्यानेजमेन्ट प्रा.लि.लाई जानकारी होला । मैले मितिः २०७१/०९/१३ मा नै प्रभु म्यानेजमेन्ट प्रा.लि. छाडिसकेको हुँदा सो पश्चात प्रभु म्यानेजमेन्ट प्रा.लि.को खाताको कारोबारको सम्बन्धमा मलाई जानकारी हुने कुरा भएन । सो सम्बन्धमा प्रभु म्यानेजमेन्ट प्रा.लि. का सञ्चालक तथा सेयर धनी कुसुम लामा र खाता सञ्चालकहरुलाई जानकारी होला । प्रभु मनी ट्रान्सफरले विप्रेषणको भुक्तानी दिनु पर्ने सम्पूर्ण रकम प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई भुक्तानी गरिसकेको हुँदा प्रभु मनी ट्रान्सफरबाट भुक्तानी लिई सम्बन्धित सहकारीलाई प्रभु म्यानेजमेन्ट प्रा.लि.ले भुक्तानी दिनु पर्ने हो । प्रभु मनी ट्रान्सफरबाट रकम भुक्तानी भईसकेको हुँदा सोको जिम्मा प्रभु म्यानेजमेन्ट प्रा.लि.को हो । प्रभु मनी ट्रान्सफर प्रा.लि. का ५ हजार भन्दा धेरै भुक्तानी गर्ने एजेन्टहरु रहेका छन् । प्रभु मनी ट्रान्स्फर, स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन फर द इयर इन्डेड ३१ असार २०८१ सम्मको चालु दायित्व महलमा पेयेबल टु एजेन्ट भनी उल्लेखित रकम सो दिनमा कार्यालय समय पश्चातको भुक्तानी गर्न बाँकी रही एजेन्टहरुलाई भुक्तानी गर्ने सम्झौता अनुसार अर्को दिन बैंक मार्फत भुक्तानी गर्ने रकम हो । उल्लेखित रकम भोलिपल्ट एजेन्टहरुलाई बैंक मार्फत भुक्तानी गरिन्छ भन्ने समेत व्यहोराको अधिकार प्राप्त अधिकारी समक्षको प्रतिवादी देवीप्रकाश भट्टचनको बयान ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?