काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आवश्यक मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार यसपटक समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङमा करिब २० करोड रुपैयाँ खर्च हुने आकलन गरिएको छ ।
आयोगले निर्वाचनका लागि आवश्यक करिब ५ करोड थान कागज पहिल्यै खरिद गरी उपलब्ध गराइसकेको हुँदा जनक शिक्षा सामग्री केन्द्रलाई छपाइ र प्याकिङको मात्र भुक्तानी गरिने भएको हो । यसले अघिल्लो निर्वाचनको तुलनामा लागत घटाउन सहयोग पुग्ने आयोगको भनाइ छ।
गत २५ पुसदेखि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा सुरु भएको छपाइ कार्यअन्तर्गत हालसम्म १ करोड २० लाख भन्दा बढी थान मतपत्र छापिसकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले आर्थिक भ्वाइसलाइ जानकारी दिएका छन्। निर्वाचनका लागि कुल ४ करोड २० लाख भन्दा बढी थान मतपत्र आवश्यक पर्नेमा अझै आधा भन्दा बढी मतपत्र छाप्न बाकी रहेको घिमिरेले जानकारि दिएका छन् ।
यता, जनक शिक्षा सामग्री केन्द्रले भने समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र २ करोड १० लाख ५० हजार थान मतपत्र आवश्यक पर्नेमा अब करिब ९४ लाख ८६ हजार थान मतपत्र छाप्न बाँकी रहेको जानकारी दिएको छ। समानुपातिकतर्फको मतपत्र छपाइका लागि आयोगले ९ माघसम्मको समयसीमा दिएको भए पनि प्याकिङ प्रक्रियामा थप समय लाग्ने देखिएकाले १० माघसम्म यो चरणको सम्पूर्ण काम सकिने केन्द्रले जनाएको छ। समानुपातिकतर्फको छपाइ सम्पन्न भएपछि मात्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ जसका लागि करिब १५ दिन थप समय लाग्ने अनुमान भएको जनक शिक्षा सामग्री केन्द्रको भनाई छ। ।
केन्द्रले २३ माघसम्ममा सबै प्रकारका मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। छपाइ सम्पन्न भएसँगै २७ वा २८ माघदेखि जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतपत्र ढुवानी सुरु गरिनेछ। उक्त ढुवानी प्रक्रियाको सम्पूर्ण सुरक्षा, व्यवस्थापन तथा अनुगमन निर्वाचन आयोगको प्रत्यक्ष जिम्मेवारीमा रहने जनाइएको छ।


































