काठमाडौँ । बन्चरे डाँडामा फोहोरको मात्रा अस्वाभाविक बढेको भन्दै सहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाको फोहर मैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा लैजाने फोहरको परिमाणलाई कम गर्ने बताएका छन्।
स्थानिय तहसँग समन्वय गर्ने उक्त काम यर्थाशिघ्र रूपमा अगाडि बढाउने मन्त्री बुढाको भनाई छ । मन्त्रालयमा भएको बैठकमा मन्त्री बुढाले बन्चरे डाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहर मैला वर्गीकरण गरी ल्याण्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन कार्य योजनासमेत कार्यान्वयन गर्न पनि मन्त्री बुढाले निर्देशन दिएका छन् ।
बैठकले बन्चरे डाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन र वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेको छ ।


































