काठमाडौं । सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको डिजिटल अभियान सडकसम्म पुगेको छ । राजधानीको माइतीघर मण्डला र नयाँबानेश्वर क्षेत्रमा आज उनीहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा ‘नेपो किड’ र ‘नेपो बेबी’ ट्रेन्ड हावी भइरहेका बेला सरकारले केही प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि विरोध अझ तीव्र बनेको हो । डिजिटल आन्दोलनलाई समर्थन गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हिजो साँझसम्म आधा दर्जन समूहले प्रदर्शनको अनुमति माग्दै निवेदन पेस गरेका छन् । ती पत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण कार्यक्रमको घोषणा गरेका छन्।
यसैबीच, टिकटकमार्फत सडक प्रदर्शनमा सहभागी हुन गरिएको आह्वान र ट्रेन्डिङ भिडियोहरूका कारण सुरक्षा निकाय सतर्क बनेका छन् । अप्रिय घटना रोक्न प्रहरीले निगरानी बढाएको छ र आह्वानसमेत गरेको छ । तर सामाजिक सञ्जालमै हिंसालाई प्रेरित गर्ने सामग्री प्रसार भइरहेको भन्दै प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको जनाए पनि यसबारे औपचारिक प्रतिक्रिया दिन मानेको छैन।
विश्लेषकहरूले असंगठित युवाहरूले आह्वान गरेको आन्दोलनलाई राजनीतिक स्वार्थसहितका समूह वा दलले आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्ने भन्दै सतर्क रहनुपर्ने सुझाव दिएका छन् । रेडिट, टिकटक र एक्स (पूर्व ट्विटर) मा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारबारे बहस चर्कंदै गएको छ।
युवाहरूको अभियानलाई केही दलसम्बद्ध नेता, इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरूले पनि प्रचार गरिरहेका छन् । प्रदर्शन शान्तिपूर्ण हुने भन्दै प्रदर्शनकारी समूहले प्रशासनसँग सहयोग मागेका छन्। यता, सामाजिक सञ्जाल बन्दविरुद्ध दायर भएका १० वटा रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ।






































