काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै किरातीले सबैले इमानदार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरेका हुन् ।
निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने कार्यक्रममा किरातीले बताए । उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने जिकिर गरे।
मन्त्री किरातीले भने, ‘ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमानदार भएर लागौँ । एक वर्ष सबैले इमानदार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ । हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ । त्यस कारणले निगम हामीले बनाउनै पर्छ । जतिबेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ । मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभूति पनि हुन्थ्यो । सबैभन्दा ठुलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्ष दिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन । कछुवाकै गतिमा भए पनि हामी अघि बढिरहेका छौँ ।’
निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको किरातीले दाबी गरेका छन्। ‘यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौँदेखि सेतो हात्तीको रूपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्, वा अन्तर्राष्ट्रिय र हाम्रो ट्रंक रुटमा पनि उड्ने जहाजहरूको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस् । ढिलो भए पनि अघि नै बढेका छौँ । आजदेखि निगमको गाडीमा गियर चेन्ज भएको छ । अब स्पिड लिने विश्वास छ,’ मन्त्री किरातीले भने ।


































