काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गते गरेको निर्णयअनुसार संगठनात्मक र निर्वाचन प्रक्रियाका सबै चरणका लागि समयसीमा निर्धारण गरिएको हो।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जारी गरेको परिपत्रअनुसार देशभरका ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठनलाई प्राथमिकतामा राखिएको छ। सोअनुसार जेठ १५ गतेभित्र सबै तहमा समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० भित्र त्यससम्बन्धी आधिकारिक कागजात निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, स्थानीय तथा जिल्ला अधिवेशनबाट आएका प्रतिवेदनहरू जेठ २० भित्र सङ्कलन गरिने र महाधिवेशन प्रतिनिधिहरूको नामावली जेठ २५ गतेसम्म पेस गर्नुपर्ने तालिका तय गरिएको छ। जिल्ला सभापतिहरूलाई पनि जेठ मसान्तभित्र अधिवेशन र निर्वाचनसम्बन्धी प्रतिवेदन अनिवार्य बुझाउन निर्देशन दिइएको छ।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउन पार्टीले इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्ने तयारी गरेको छ। यससम्बन्धी आवश्यक छलफल तथा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ भित्र पेस गरिसक्ने योजना रहेको छ।
केन्द्रीय निर्वाचन आयोगले प्रदेश तथा जिल्ला तहका नेतृत्वलाई समन्वय गरेर तोकिएको समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ। महाधिवेशन तयारीलाई प्रभावकारी बनाउन महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाहसहित संगठन विभागका सचिव शंकर श्रेष्ठलाई समेत जानकारी गराइएको छ।

































