काठमाडौँ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ घाटा व्यहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदन अनुसार यो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोडको आयात र १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १०.०९, निर्यात ४६.५० र कूल वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको हो।
सोही अनुसार, सात महिनाको अवधिमा ४ अर्ब ३९ करोड ४ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ६४ हजार ८२२ जोर जुत्ता चप्पल नेपाल आयात भएको छ । उक्त परिमाणमा जुत्ता–चप्पल आयात हुँदा २ अर्ब ५९ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको विभागले जनाएको छ ।
गत वर्षको तुलनामा चालु वर्षमा यस्तो आयात करिब १ अर्ब ७१ करोड रुपैयाँ बराबरले आयातमा कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८३ हजार ८९० जोर जुत्ता चप्पल आयात भएको थियो ।


































