काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (कात्तिक १० गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २०% ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसको १०% अर्थात् १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा आइपीओ बिक्री खुला गरेको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


































