काठमाडौं । युक्रेनी ड्रोन र छिमेकी रुसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रुसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’ स्थानीय गभर्नर युरी स्ल्युसरले बिहीबार टेलिग्राममा उल्लेख गरेका छन् ।
आक्रमण गरिएको रोस्तोभ क्षेत्रमा तीन दर्जनभन्दा बढी युएभी र तीन वटा क्षेप्यास्त्र तैनाथ गरिएको छ ।
आक्रमणपछि रुसी हवाई प्रतिरक्षा सेवा यस क्षेत्रका धेरै शहरहरुमा सक्रिय गरिएको छ ।
अधिकांश हवाई लक्ष्यहरु निष्प्रभावी भए तापनि तेल प्रशोधन केन्द्रमा आगलागी भएको तर यसलाई रुसी अधिकारीले बरिब एक घण्टापछि नियन्त्रणमा लिएका बताइएको छ ।
रुसको रक्षा मन्त्रालयले किएभले विमानको प्रयोग गरेर आतंकवादी हमला गर्ने प्रयास गरेको तर विफल भएको जनाएको छ ।
रुसको हवाई प्रतिरक्षा प्रणालीले रोस्तोभ क्षेत्रसहित देशभरका ८० भन्दा बढी ड्रोन नष्ट गरेको छ । रुसको सीमावर्ती क्षेत्रमा युक्रेनी आक्रमण हुने गरेको छ भने गत हप्ता रोस्तोभ र पश्चिमी ब्रायन्स्क क्षेत्रलाई लक्षित गरी दुई छुट्टाछुट्टै आक्रमण भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार वार्षिक पत्रकार सम्मेलन आयोजना गर्ने क्रममा पछिल्लो आक्रमण भएको हो । एजेन्सी


































