काठमाडौँ । शुक्रवार तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा लगायतलाई आज अदालत उपस्थित गराइएको छ ।
मिश्र, राणा र स्वागतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रवार पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो। हिजो शनिवार नै अदालत हाजिर गराउने तयारी भएको भए पनि शनिवार बन्द हुने भएकाले आज आइतबार उनीहरूलाई बाँकी प्रक्रियाका लागि अदालत उपस्थित गराइएको हो ।
प्रहरीले शनिवार उनीहरूलाई कुन कुन मुद्दा चलाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो।
शुक्रवार दुर्गा प्रसाईँको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने(कोटेश्वर) जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना समितिले पनि प्रसाईँको प्रदर्शनलाई समर्थन गरेको थियो।
































