काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक राजवादी प्रदर्शनका मुख्य फरार नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र नेपालकै कुनै ठाँउमा सुरक्षित रहेको बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना भइरहेको समयमा उनलाई भारतमा प्रकाउ गरेर नेपाल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो।
सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरु धवलशमशेर राणा, रबिन्द्र मिश्र लगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।


































