काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा काठमाडौँ महानगरपालिका वडा नं.७, चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेको शीतल निवासबाट जारी सूचनामा उल्लेख गरिएको छ ।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलो पटक महान्यायाधिवक्ता नियुक्त भएका थिए। तर सर्वोच्च अदालतको परमादेशले ओली सरकार ढलेर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि बडालले पनि राजीनामा दिएका थिए।
उनको पहिलो कार्यकाल संसदमा प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनको बचाउ गर्दै बितेको थियो। ओलीले पहिलो पटक संसद् विघटन गर्दा एमाले नेतासमेत रहेका वरिष्ठ अधिवक्ता अग्नि खरेल महान्यायाधिवक्ता थिए। उनले बिचैमा राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए।
बडाल हालको सत्ता गठबन्धन निर्माणका क्रममा पनि सक्रिय थिए। असार १७ गते राति काठमाडौँको चपलीमा कांग्रेस र एमालेबिच सत्ता सहकार्य गर्नेबारे सहमति गर्दा पनि बडाल उपस्थित थिए।


































