काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले वैशाख ७ गतेदेखि निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो ।
अब, उक्त ऋणपत्रमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको थियो ।
कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् ।
दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ । यस्तै, ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ ।

































