वाशिङटन डीसी । अमेरिकाको अर्थ मन्त्रालयले रुसी तेलमाथि लगाइएको प्रतिबन्धमा प्रदान गरिएको अस्थायी छुटको अवधि समाप्त भएको घोषणा गरेको छ।
शनिबारदेखि लागू भएको यो निर्णयसँगै विश्व बजारमा तेल आपूर्तिमा संकुचन आउने र इन्धनको मूल्य अझ बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ।
केही साताअघि विश्व ऊर्जा बजारमा देखिएको अस्थिरतालाई मध्यनजर गर्दै ट्रम्प प्रशासनले रुसी तेल खरिदमा अस्थायी छुट दिएको थियो। विशेषगरी अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि सामरिक महत्त्वको ुस्ट्रेट अफ होर्मुजु बन्द हुँदा विश्वको तेल र तरल ग्यास आपूर्तिमा गम्भीर संकट आएको थियो।
यस छुटको अवधिमा भारतले रुसी तेलको आयातमा कीर्तिमानी वृद्धि गर्दै दैनिक २३ लाख ब्यारेलसम्म पुर्याएको थियो। अब छुट समाप्त भएसँगै भारत लगायतका ठूला तेल आयातकर्ता देशहरूले वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बाध्यता आइपरेको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई प्रतिब्यारेल १०० डलरभन्दा माथि नै राख्न दबाब दिनेछ। यसको प्रभाव अमेरिकी बजारमा पनि देखिन थालेको छ, जहाँ पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ४ डलर ५ सेन्ट पुगिसकेको छ।


































