काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा परि मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरूको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले उल्लेख गरेको छ ।
दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् ।
तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो ।
यस्तै थपलियाको ११ महिनाअघि नै मृत्यु भएको थियो । दूतावासले मृतक तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रवार काठमाडौँ त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ ।
जसको बोधार्थ परराष्ट्र मन्त्रालय र युरोप–अमेरिका महाशाखालाई दिइएको छ । उक्त पत्रमा रुसी सेनाले टेलिग्राममार्फत मृत्युको जानकारी दिएको उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयले पत्र पाए पनि युद्धमा नेपाली मारिएको विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन ।


































