काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोनमार्फत संवाद भएको छ। उनीहरूबीचको कुराकानी मुख्यतः मध्यपूर्वमा जारी संघर्षको अवस्थाबारे केन्द्रित रहेको बताइएको छ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार मंगलबार राति भएको उक्त वार्ताका क्रममा पुटिनले क्षेत्रीय तनाव चाँडै घटाउन युद्ध अन्त्य गर्नु आवश्यक रहेको बताएका थिए। उनले यस समस्याको समाधान सैन्य माध्यमभन्दा पनि कूटनीतिक पहलमार्फत खोजिनुपर्ने धारणा व्यक्त गरेका थिए।
वार्ताका क्रममा इरानी राष्ट्रपति पेजेश्कियानले कठिन परिस्थितिमा रुसले दिएको समर्थन तथा मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोनमा संवाद गरेको जानकारी दिएका छन्। उनका अनुसार दुई नेताबीच इरानसँग सम्बन्धित युद्ध र रुस–युक्रेन द्वन्द्वबारे पनि चर्चा भएको थियो।
ट्रम्पले पुटिनले इरानसँगको युद्ध अन्त्य गर्न सहयोग गर्न सक्ने संकेत गरेको बताए। फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित केही शीर्ष नेताहरू मारिएका थिए। त्यसपछि इरानले खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको हो।
यसपछि रुसी राष्ट्रपति पुटिनले सोमबार मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनेकोमा बधाई दिएका थिए। अर्कोतर्फ अमेरिकी राष्ट्रपति ट्रम्पले भने नयाँ इरानी नेताप्रति असन्तुष्टि जनाउँदै मोज्तबा खामेनीलाई धेरैले नचिनेको व्यक्ति भएको टिप्पणी गरेका थिए।


































