काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी गर्ने कम्पनी रेडी ट्रेडले ३०२ किलो सुन ल्याएको भेटिएको जनाएको छ । सीआईबीले सुन तस्करीको थप अनुसन्धान जारी नै राख्ने भएको छ ।
सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई भनेको छ ।
सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गर्दैछ ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको सीआईबीले जनाएकाे छ ।
विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।
प्रहरीले यो प्रकणमा ३२ जना पक्राउ गरेको जनाएको छ भने अन्य १८ जना अझै फरार रहेका छन् ।


































