काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना श्रावणमा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्। जसमध्ये ५८,९४८ जना पुरुष र ९,१६२ जना महिला रहेका छन्। महिलाको हिस्साले समग्र श्रम स्वीकृति लिनेमध्ये करिब १३.४५ प्रतिशत ओगटेको देखिन्छ।
श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको रहेको छ। श्रावण महिनामा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्। तीमध्ये २९,१३० जना पुरुष र २,७०० जना महिला रहेका छन्। सोही अवधिमा २३,६४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ जना पुरुष र ३,०९७ जना महिला छन्।
त्यस्तै, व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ भने सरकार–सरकार (G2G) प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जाने श्रमिकको संख्या ८६४ जना रहेको विभागको तथ्यांकले देखाउँछ।
वैदेशिक रोजगारीको आकर्षणसँगै ठगीका घटना पनि यथावत छन्। वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखामा श्रावण महिनामा मात्र ५८० वटा उजुरी दर्ता भएका छन्। ती उजुरीहरूमध्ये ७४ वटामा मिलापत्र गरिएको छ भने २६ वटा मुद्दा अदालतमा दायर भएका छन्।
उक्त अवधिमा पीडित श्रमिकहरूका लागि तीन करोड ५३ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति रकम असुल गरिएको विभागले जनाएको छ।


































