काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछानेसहित ५१ जनामाथि मुद्दा चलाउन रायसहित सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईसहित ५१ जनामाथि मुद्दा चलाउन प्रहरीले राय दिएको हो। कास्कीको सुर्यदर्शन सहकारीको वचत रकम अपचलनमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको कास्की प्रहरीले जनाएको छ ।
सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
प्रहरीले प्रतिवेदन बुझाएसँगै अब केही दिनमै सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्नुपर्नेछ। सहकारी ठगीबारे संसदीय विशेष छानबिन समितिले लामिछानेसहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सुझाव दिएको थियो। समितिले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेको थियो।
मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।


































