काठमाडौँ । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधवार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरूमा सडकको स्तर उन्नति सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौँ जाने सवारीसाधन बिच बाटोमा रोकिदा सयौँ यात्रुहरू अलपत्रमा परेका छन् । वर्षाको कारण थप क्षति नहोस् भनेर आवश्यक सुरक्षा तयारीमा सम्पूर्ण संयन्त्र खटिएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।


































