काठमाडौँ । पछिल्लो समय स्थायी लेखा नम्बर लिनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपालमा हालसम्म झन्डै ७० लाख उपभोक्ताले स्थायी लेखा नम्बर लिएका छन्।
अर्थ मन्त्रालयको एक विवरण अनुसार एकै वर्षको अवधिमा ७ लाख ७३ हजार २१७ करदाता थपिएका छन् । स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो।
अर्थ मन्त्रालय अन्तर्गत राजश्व व्यवस्थापन महाशाखाका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या एकै वर्षमा २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेको छ भने डब्ल्यूप्यान लिनेको संख्या २ हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ।
व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेकोसंख्या एकै आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन्। जसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको तथ्यांकले देखाएको छ।
गत आर्थिक वर्षसम्ममा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ५१ हजार ७३५ र अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार ९९७ पुगेको छ।
खास गरी आयकर दाखिला, कर रिटर्न फाइल गर्न र अन्य कर सम्बन्धी कार्यहरूका लागि यो अनिवार्य गरिएको छ। बैंक खाता खोल्न, ठूलो रकमको कारोबार गर्न, ऋण लिन वा क्रेडिट कार्ड बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्छ।


































