काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाने भएसँगै आजबाट नै प्रहरी प्रमुख पद खाली हुने भएको छ ।
प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका छन् ।
यता, डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका हुन् । तर, अहिलेसम्म आगामी महानिरीक्षकको कुनै टुंगो लाग्न सकेको छैन ।
एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा देखिन्छन्। सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ।
करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयनको निर्णय समयमा नगर्दा गलत समूहले चलखेल गर्ने मौका पाइरहेको भन्दै आलोचना भएको छ। प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। यद्यपि एआइजी दीपक थापाको महानिरीक्षक बन्ने चर्चा उत्तिकै चुलिएको छ ।


































