काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस अवधिमा बैंकहरूले कुल १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७६ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूले ८६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए।
२० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह नबिल बैंकले गरेको छ। बैंकले मंसिरसम्म १५ अर्ब ८३ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०८ प्रतिशत अर्थात ८९ करोड ७० लाख रुपैयाँले बढी हो।
सेयर धितो कर्जा प्रवाहको सूचीमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह १९.४८ प्रतिशतले बढेको छ। मंसिरसम्म बैंकले १३ अर्ब ५२ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ, जुन गत आवको तुलनामा २ अर्ब २० करोड ५० लाख रुपैयाँले बढी हो।
त्यसैगरी, कुमारी बैंकले १० अर्ब २७ करोड ६० लाख, प्राइम कमर्सियल बैंकले ९ अर्ब ४२ करोड ६० लाख, सिद्धार्थ बैंकले ८ अर्ब ७९ करोड ६० लाख तथा लक्ष्मी सनराइज बैंकले ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
यता, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकको सेयर धितो कर्जा प्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ। माछापुच्छ्रे बैंकको कर्जा प्रवाह ३०९.८८ प्रतिशतले बढ्दै चालु आवको पाँच महिनामा ३ अर्ब ८९ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ९५ करोड १० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो।
कृषि विकास बैंकले मंसिरसम्म ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ, जुन गत आवको तुलनामा २५७.१४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।
यस अवधिमा १९ वाणिज्य बैंकको सेयर धितो कर्जा प्रवाह बढेको भए पनि नेपाल बैंकको भने उक्त कर्जा प्रवाह घटेको छ। बैंकले चालु आवमा ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ, जुन गत आवको तुलनामा ९.४१ प्रतिशत अर्थात ७४ करोड ४० लाख रुपैयाँले कम हो। गत आवको सोही अवधिमा नेपाल बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो।


































