काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर बजारमा प्रवाह हुने सेयर धितो कर्जा ११ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, साउनदेखि फागुनसम्ममा बैंकहरूको सेयर कर्जा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँले बढेर कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा मार्जिन कर्जा २७.८ प्रतिशतले वृद्धि भई कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो। उल्लेखित तथ्यांकले पूँजी बजारमा लगानीकर्ताको बढ्दो सक्रियता र वित्तीय संस्थाहरूको सक्रियता बढेको देखाएको छ ।
त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा १५.५ प्रतिशत वृद्धि भएर १८ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ। २५ लाखदेखि ५० लाखसम्मका कर्जामा ९.५ प्रतिशतले वृद्धि भएर १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। साना लगानीकर्ताले लिने २५ लाख रुपैयाँभन्दा कम कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
सात महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशतले वृद्धि भई ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा हेर्दा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ।
क्षेत्रगत विवरणमा, उपभोग्य क्षेत्रमा कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रमा ८.७ प्रतिशत, यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ४.८ प्रतिशत र सेवा उद्योगमा १.१ प्रतिशतले वृद्धि भएको छ। तर, कृषि क्षेत्रमा कर्जा १.४ प्रतिशतले घट्नु र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.९ प्रतिशतले घट्नु उत्पादनमुखी लगानी कमजोर रहेको मान्न सकिने जानकारहरुको भनाई छ।
कुल कर्जामध्ये ६३.८ प्रतिशत घरजग्गा धितोमा लगानी भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कुल कर्जामध्ये १५ प्रतिशत चालु सम्पत्ति सुरक्षणमा रहेको छ। कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन कर्जा ११ प्रतिशत, हायर पर्चेज ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल इस्टेट २.५ प्रतिशत, क्यास क्रेडिट २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ। ओभरड्राफ्ट कर्जा भने ३.४ प्रतिशतले घटेको छ।
माघ मसान्तसम्म कुल कर्जामध्ये ६२.६ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्र र ३७.४ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा रहेको छ। कर्जा प्रवाह वाणिज्य बैंकबाट ४.२ प्रतिशत, विकास बैंकबाट ३ प्रतिशत र वित्त कम्पनीबाट १.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
कुल निक्षेप संरचनामा चल्ती निक्षेप ६.५ प्रतिशत, बचत निक्षेप ४२.८ प्रतिशत र मुद्दती निक्षेप ४१.६ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको हिस्सा ३४.३ प्रतिशत रहेको छ। वार्षिक विन्दुगत आधारमा माघ मसान्तसम्म कुल निक्षेप १४.९ प्रतिशतले वृद्धि भएको छ।
































