काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति अनुसार ऐन जारी हुने बताएका छन् ।
आज मंगलवार प्रतिनिधि सभा बैंठकमा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूमा संसदमा जवाफ दिँदै मन्त्री पन्तले सहमति अनुसार ऐन विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले समन्वय गरिरहेको धारणा राखेका छन् ।
शिक्षकको पछिल्लो पेशागत आन्दोलनका क्रममा भएको ९ बुँदे सम्झौता बमोजिम प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलबमा सङ्घीय सरकारले व्यहोर्ने दायित्व रकम वृद्धि गरिएको उल्लेख गर्दै ग्रेड मिलान लगायतका विषयमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय भैराखेको बताएका छन् । यस अघि शिक्षकका सङ्घ सङ्गठनसँग सम्झौता भएका विषय कार्यान्वयन गर्नका लागि सबै जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

































