काठमाडौँ । सरकारले विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा प्रतिबन्ध लगाउन नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउन खोजे पनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकटोक नगर्न आदेश दिएको हो ।
अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग समेतलाई विपक्षी बनाएर उच्चमा रिट दायर गरेको मुद्दामा उच्चका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले भेप आयात तथा विक्री गर्न बाटो खुला गरिदिएको हो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को नियम २८ को उपनियम ३ अनुसार ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाउने छैन’ भनी उल्लेख भएकाले सो को पालना गराउन पत्राचार गरिएको केन्द्रले बताउँदै आएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग तथा आपूर्ति मन्त्रालय र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई परिपत्र गरिएको केन्द्रले गरेपनि उच्च अदालतको हालैको आदेशले त्यसरी नरोक्न सरकारलाई भनेको हो ।


































