काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा ट्राफिक व्यवस्थापनलाई कडा र दुरुस्त राख्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ८ सय ९० जना ट्राफिक प्रहरी उपत्यकाभित्रका विभिन्न स्थानमा तैनाथ गर्ने जनाएको छ ।
पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यकाका लागि सबै तयारी सकिएर पनि कार्यान्वयनको चरणमा गएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिन ट्राफिक प्रहरीले आग्रह समेत गरेको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहज रूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ ।
त्यसको साथै, आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइँदै जाने ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतको भनाई छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।
साथै, दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरूको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुह्येश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूलाई पार्किङ व्यवस्था मिलाएको जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत निर्धारण गरिएको छ ।दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
यता, तीनकुनेबाट सिना मङ्गलतर्फ,बौद्ध एरियाबाट गौरी घाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्र पार्क तर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ। वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
साथै, गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने भएको छ ।
महाशिवरात्रीको अबधीभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरूलाई निर्बाध रूपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यवस्थापन गर्न प्रहरीले पूण तयारी सकेको र शिवरात्रिकै अवसरमा अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरु खटाइने प्रवन्ध मिलाइएको जानकारी दिएको छ ।

































