काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसद् अवरोध हटाउने विषयमा दुई बुँदे सहमति जुटेको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
तर संसद अवरोधमा सहभागी अर्को विपक्षी दल रास्वपाले भने उक्त सहमतिमा हस्ताक्षर गरेको छैन।
यससँगै प्रतिपक्षी दलहरू बीच विभाजन देखिएको छ।
तर अहिले माओवादी केन्द्रले सत्ता गठबन्धनको तर्फबाट एमालेसँग सहमति जनाएपछि विपक्षी दलहरू दुई धारमा छुट्टिएका छन्।
रास्वपा र राप्रपाले संसद् अवरोध यथावत् रहने बताएका छन्। राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्न लागेको छानबिन विश्वसनीय नभएको भन्दै विरोध जारी रहने बताएका छन्।
त्यस्तै, रास्वपाले पनि छानबिन समिति नतोकेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ।


































