National life

सस्तो ब्याजमै फँसे बिमा कम्पनीहरू: ७६% लगानी बैंकमा, आम्दानी निरन्तर घट्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
1.3kShares
सस्तो ब्याजमै फँसे बिमा कम्पनीहरू: ७६% लगानी बैंकमा, आम्दानी निरन्तर घट्दै
ncell

काठमाडौं । जीवन बीमा कम्पनीहरूसँग रहेको ६ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ हाल बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रूपमा थन्किएको छ। पछिल्लो एक दशकयताकै न्यून ब्याजदर कायम रहँदा पनि बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्न नसकेको देखिएको छ।

बिमा कम्पनीहरूले लगानी गर्नुपर्ने ठूलो रकम अझै पनि सस्तो ब्याजमै बैंकहरूमा थुपारेका हुन्। हाल बैंकिङ प्रणालीमा ब्याजदर ऐतिहासिक तल्लो बिन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत आधारदर ५.३८ प्रतिशत मात्रै रहेको छ, जुन पछिल्लो १० वर्षकै न्यून स्तर हो।

यसअघिसम्म ब्याजदर दोहोरो अंकमा हुँदा बीमा कम्पनीहरूले बैंकमा गर्ने निक्षेपलाई सुरक्षित र आकर्षक लगानीका रूपमा लिँदै आएका थिए। तर ब्याजदर सस्तिएसँगै ब्याज आम्दानी घट्ने अवस्था आउँदा पनि उनीहरू अन्य क्षेत्रमा लगानी स्थानान्तरण गर्न सकेका छैनन्।

केन्द्रीय बैंकका तथ्यांकअनुसार पछिल्लो पाँच महिनामै बीमा कम्पनीहरूले १५ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानीयोग्य रकम न्यून ब्याजदरमै बैंक तथा वित्तीय संस्थाहरूमा थप निक्षेप गरेका छन्। यससँगै बैंकिङ प्रणालीमा बीमा कम्पनीहरूको कुल लगानी ६ खर्ब ७८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

असार मसान्तसम्म पुनर्बिमा कम्पनीसहितका बीमा कम्पनीहरूसँग कुल ८ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम थियो। त्यसमध्ये २ खर्ब ७ अर्ब रुपैयाँ मात्रै अन्य क्षेत्रमा लगानी गरिएको थियो भने बाँकी करिब ७६ प्रतिशत रकम बैंक निक्षेपमै राखिएको देखिन्छ। मंसिर मसान्तसम्म आइपुग्दा समेत बीमा कम्पनीहरूले आम्दानी घट्ने जोखिम बेहोरेरै कुल लगानीको ७७ प्रतिशत रकम निक्षेपमै राखेका छन्।

बीमा प्राधिकरणले लगानी विविधीकरणका लागि २०८० पुसमा जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० जारी गर्दै १२ वटा क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेको थियो। यद्यपि लगानीका लागि सीमा तोकिए पनि जीवन बीमा कम्पनीहरू अझै पनि सीमाभन्दा बाहिर बैंक निक्षेपमै केन्द्रित देखिएका छन्।

ब्याजदर घटेपछि भने जीवन बीमा कम्पनीहरू लगानी विविधीकरणतर्फ चासो देखाउन थालेका छन्। केही कम्पनीहरूले सहायक इन्भेस्टमेन्ट कम्पनीसमेत स्थापना गरेका छन्। तर संस्थागत संरचना बने पनि व्यवहारमा भने लगानी विविधीकरण हुन नसकेको अवस्था छ।

जोखिमको बहानामा बैंक ब्याजमै निर्भर रहँदै आएका बीमा कम्पनीहरू ब्याजदर ऐतिहासिक रूपमा तल्लो सीमामा झरेपछि आम्दानी घट्ने आकलनका बीच लगानी विविधीकरणतर्फ अग्रसर भएजस्तो देखिए पनि अन्ततः कुल लगानीयोग्य रकमको ७६ प्रतिशतभन्दा बढी हिस्सा अझै बैंक निक्षेपमै थुपारिएको छ।

यद्यपि, गत भदौमा सेयरबजारमा लगानी गर्न पाउने सीमा फराकिलो पारिएको थियो। चालू आर्थिक वर्षको बजेटको करिब आधा बराबरको लगानीयोग्य रकम बोकेर बसेका बीमा कम्पनीहरूको लगानी विस्तारका लागि बीमा प्राधिकरणले लचिलो नीति अवलम्बन गर्दै जीवन बीमा कोषको १५ प्रतिशतसम्म रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो। यसअघि उक्त सीमा १० प्रतिशत मात्र थियो।

तर लगानी सीमा बढाइए पनि त्यसको प्रभाव भने बैंकमा राखिने बीमा कम्पनीहरूको निक्षेपमा देखिन सकेको छैन। बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएर निक्षेप स्वीकार गर्न गाह्रो परिरहेको अवस्थामा समेत बीमा कम्पनीहरूले ठूलो रकम बैंकमै राखेर कम ब्याजमै आम्दानी सिमित गर्न बाध्य भएको देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?