काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्वाइन फ्युल ९एटिएफ०, मट्टितेल आयात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि हो ।
“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, भन्सार कार्यालयले जनाको छ ।
कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व सङ्कलन भएको छ । चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको पाँच लाख ८१ हजार सात सय ९९ किलो लिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
सोही अवधिमा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलो लिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड राजस्व सङ्कलन भएको छ ।
चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । यसबाट सरकारलाई तीन अर्ब ९१ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

































