काठमाडौँ । सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताका युवाहरू आइतबार काठमाडौँको सडकमा उत्रिए । माइतीघर मण्डलादेखि नयाँबानेश्वर हुँदै अघि बढेका उनीहरू संसद् भवन अगाडि पुग्दा स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीसँग झडपसमेत भयो ।
प्रदर्शनकारीले संसद् भवन घेरेर बोतल प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धपेडी चलेपछि केही घाइते भएका छन् भन्ने समाचार आएको छ ।
नेपालमा दर्ता गर्न तोकिएको समयसीमा सकिएसँगै लोकप्रिय सामाजिक सञ्जालहरू बन्द भएपछि युवाहरू सडकमा ओर्लिएका हुन् । उनीहरूले ‘सरकार बोल्न दे, देश लुट्न पाइँदैन’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘सञ्जाल खोल’ जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरे ।
काठमाडौँ मात्र होइन, वीरगन्ज, पोखरा लगायतका प्रमुख सहरमा पनि एकैपटक युवाहरूले प्रदर्शन गर्दै सरकारविरुद्ध आवाज बुलन्द पारेका छन् ।






































