काठमाडौँ । स्वस्तिक लघुवित्तले निष्काशन गरेको आईपीओमा दुई कार्य दिनमै मागभन्दा १०० गुणा बढीको आवेदन परेको छ। भदौ १ गते साँझसम्ममा कम्पनीको उक्त आईपीओमा १७ लाख ५ हजार ९ सय ९५ जना आवेदकबाट २ करोड ७२ हजार ५ सय १० कित्ताको लागि आवेदन परेको छ। यो माग गरिएको भन्दा १०२.८३ गुणा बढी हो।
कम्पनीले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ ।
कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। शेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

































