काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिसमा परेको छ ।
निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सरकार समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।आवेदन दिएकामध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उच्च अंक ल्याउने तीन जनाको नाम सिफारिस गरेको हो।
स्वास्थ्य मन्त्रालयको एक स्रोतका अनुसार सिफारिसमा पर्नेहरूमा कमल पन्थी, डा.कृष्णप्रसाद अधिकारी र डा.रघुराज काफ्ले रहेका छन्।
समितिले आवेदन दिएका १० जनासँग १८ र १९ फागुनमा प्रस्तुतीकरण र अन्तर्वार्ता गराएको थियो। सिफारिसमा परेका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ।
बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो। हाल मन्त्रालयले डा सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएको छ।

































