ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरु गरेको थियो ।
२०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको अनुमति पाएको बैंकले देशभरका सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । २१ वर्षे यात्रामा सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाएको बैंकले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म ६९ अर्ब ५५ करोड कुल सम्पत्ति पुर्याउन सफल भएको छ ।
७७ वटै जिल्लामा सदस्यता विस्तार गर्दै १६ हजार ३ सय २८ सहकारी संघ संस्थाहरूमार्फत करिब ३५ लाख व्यक्तिहरू आबद्ध भइसकेको र बाँकी सहकारी संस्थाहरूले पनि सदस्यता लिने क्रम जारी रही रहेको बैंकले जनाएको छ । बैंकले देशभर ६८ वटा शाखाहरू मार्फत सहकारी संघ संस्थाहरूलाई उत्कृष्ट वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले सदस्य सहकारी संघरसंस्थाहरूलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, तालिम तथा शिक्षा, डिजिटलाइजेसन, सहकारी अभियानको संरक्षण र सम्बर्द्धनका लागि पहलकदमी जस्ता विविध गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
सदस्यहरूबिच लोकप्रिय रहेको सदस्य शिक्षा कार्यक्रम अन्तर्गत इ–पुस्तकालय, समसामयिक विषयमा हरेक हप्ता परामर्श सेवा र सहयोग, जानकारीमूलक कार्यक्रम तथा सदस्य सम्मान कार्यक्रमको आयोजनाका कारणले पनि सदस्यहरूमा हौसला तथा उत्प्रेरणा जगाउने कार्यमा मद्दत पुग्नुको साथै बैंक प्रतिको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बैंकले जनाएको छ ।
बैंकले आफ्नो कार्य सञ्चालन गर्ने दौरानमा नियामकीय प्रावधानहरूको प्रारूपलाई पालना गर्दै वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्तर्निहित जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आएकोले पनि बैंकले सदस्यमैत्री सेवा प्रदान गर्न सक्षम उल्लेख गरेको छ ।
राष्ट्रिय सहकारी महासङ्घको अध्यक्ष ओम देवि मल्लले सहकारीको बर्तमान अवस्था र भावी कार्यदिशा प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा बोल्दै कुनै पनि वित्तीय सेक्टर स्वनियमन र सुशासनले चल्न नसक्ने बताएकी छिन् ।
सहकारीबाट आम मानिसको विश्वास घटि रहेको अवस्थामा सहकारीलाई कसरी विश्वासनीय बनाउने भन्ने सन्दर्भलाई समेत कार्यक्रममा समेटिएको थियो । अध्यक्ष मल्लले भनिन् , "विश्वभरि नै सहकारी अनुगमन गर्ने संस्था छ ।हामीले हस्तक्षेप खोजेको हैन । पार्दर्शिक रूपले र अभिभावको रूपबाट नियामक निकाय हामीलाई चाहिन्छ भनेका हौ । "
त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घको पूर्व अध्यक्ष केशव बडालको पनि उपस्थिति रहेको थियो । सहकारी बैङ्क स्थापना गरेका अग्रजलाई पनि उनले सम्झिएका थिए। सहकारी बैङ्क दर्ताका निमित्त भगवान् अधिकारीको ठुलो योगदान रहेको पूर्व अध्यक्षले बताए ।
राज्यले पनि सहकारीको लागि चासो नदिएको उनको गुनासो रहेको छ ।संविधानको अनुसार राज्यले पनि ध्यान नदिएको बडालले बताए । स्थापना दिवसको अवसर पारेर ७ जनालाई कर्मचारीलाई पुरस्कृत पनि गरिएको थियो । कर्मचारीको कामलाई सम्मान गर्दै थप आगामी दिनमा पनि हौसला मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको छ ।
बैंकले २२ औँ स्थापना दिवसको अवसरमा सातवटै प्रदेशमा एकै दिनमा ‘सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रम’ को आयोजना गरेको थियो ।


































