काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सैन्य लक्ष्यहरूमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकाका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना जहाजमाथि भएको आक्रमणको प्रत्युत्तरस्वरूप उक्त कारबाही गरिएको हो।
यता इरानले भने अमेरिकी पक्षले पहिले आफ्नो तेल ट्यांकरमाथि आक्रमण गरेपछि मात्रै आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने संकेत दिएका थिए।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी नौसैनिक जहाजहरू ओमानको खाडी हुँदै अघि बढिरहेका बेला इरानी बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको हो।
इरानतर्फ भने अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाइएको छ। आईआरआईबी मार्फत सार्वजनिक गरिएको वक्तव्यमा इरानले आफ्ना जहाजमाथि आक्रमण भएपछि सशस्त्र बलले तत्काल जवाफ दिएको र अमेरिकी पक्षलाई ठूलो क्षति पुगेको दाबी गरेको छ।
इरानी नौसेनाले शक्तिशाली विस्फोटक प्रयोग गरेर प्रतिक्रिया दिएको र आफ्ना गुप्तचर सूचनाअनुसार अमेरिकी जहाजहरू पछि हट्न बाध्य भएको उल्लेख गरिएको छ।
यसैबीच ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन्। उनले झडप भइरहे पनि औपचारिक रूपमा युद्धविराम कायम रहेको दाबी गरे। साथै इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी अडान दोहोर्याउँदै सम्झौतामा हस्ताक्षर नभए कडा परिणाम भोग्नुपर्ने चेतावनी दिए।
हालै होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा असर पार्न थालेको छ। यो क्षेत्र विश्वभर तेल तथा ग्यास आपूर्तिको महत्वपूर्ण मार्ग भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि गराएको छ।
केही समयअघि पाकिस्तान मा दुई पक्षबीच वार्ता भए पनि पछिल्ला घटनाले सम्भावित शान्ति प्रक्रियामा चुनौती थपिएको विश्लेषण गरिएको छ। अमेरिकाले भने आफू तनाव बढाउन नचाहेको तर आवश्यक परे पूर्ण रूपमा तयार रहेको जनाएको छ।

































