काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले संसदका दुवै सदनमा बहुमत हासिल गरे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५ हजार अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन् ।
टेक्सासको डल्लासमा आयोजित रिपब्लिकन पार्टीको पहिलो मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् । यद्यपि, उनले प्रस्तावित रकम वितरण गर्ने प्रक्रिया, त्यसका लागि आवश्यक स्रोत तथा कार्यक्रम कार्यान्वयनको विस्तृत खाका भने सार्वजनिक गरेका छैनन् ।
ट्रम्पका अनुसार रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा जित हासिल गरेमा अमेरिकी वयस्क नागरिकले ५ हजार डलरको ‘लाभांश’ प्राप्त गर्नेछन् ।
ट्रम्पले आफ्नो भाषणमा अमेरिकी नागरिकले उक्त पैसा क्यानडा, चीन वा जर्मनीमा खर्च नगरी अमेरिकाभित्रै प्रयोग गर्नुपर्ने बताएका छन् । यसबाट अमेरिकी अर्थतन्त्रमा थप खर्च र गतिविधि बढाउने उनको उद्देश्य देखिन्छ ।
तर, ट्रम्पको घोषणाप्रति तत्कालै राजनीतिक तथा कानुनी प्रश्न उठेका छन् । डेमोक्रेटिक पार्टीले यसलाई ‘खोक्रो बाचा’को संज्ञा दिएको छ भने प्रस्ताव कार्यान्वयनका लागि आवश्यक कानुनी तथा वित्तीय आधारबारे समेत प्रश्न गरिएको छ ।
अमेरिकामा करिब २७ करोड वयस्क नागरिक रहेको अनुमानका आधारमा प्रत्येकलाई ५ हजार डलर वितरण गर्दा सरकारमाथि करिब १.३ ट्रिलियन डलर अर्थात् १३ खर्ब डलर बराबरको वित्तीय भार पर्न सक्छ । यस्तो ठूलो रकमको व्यवस्थापन कसरी गर्ने भन्ने विषय ट्रम्पको घोषणाको मुख्य चुनौतीका रूपमा देखिएको छ ।
यसबीच अमेरिकामा मूल्यवृद्धि र ऊर्जा बजारको अस्थिरता पनि चिन्ताको विषय बनेको छ । इरानसँगको बढ्दो सैन्य तनाव तथा खाडी क्षेत्रमा देखिएको अस्थिरताले विश्वव्यापी तेल आपूर्तिमा समेत असर पारिरहेको छ । हर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधका कारण तेल तथा तरलीकृत प्राकृतिक ग्यासको अन्तर्राष्ट्रिय आपूर्ति प्रभावित भएको बताइएको छ ।
ऊर्जा बजारमा आएको अस्थिरताले अमेरिकासहित विश्वका विभिन्न मुलुकमा इन्धन तथा अन्य वस्तुको मूल्यमा दबाब सिर्जना गरेको छ । यही परिस्थितिमा ट्रम्पले आफ्ना समर्थकहरूलाई मध्यावधि निर्वाचनअघिसम्म युद्ध अन्त्य नहुने र त्यस अवधिसम्म तेलको मूल्यमा समेत उल्लेख्य गिरावट नआउने चेतावनी दिएका छन् ।
इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न आवश्यक कदम चाल्दा केही समय आर्थिक कठिनाइ सहनुपर्ने ट्रम्पको तर्क छ । टेक्सासमा भएको सम्बोधनमा उनले राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै वर्तमान चुनौती सामना गर्नुपर्ने धारणा राखेका छन् ।
ट्रम्पले यसअघि पनि अमेरिकी नागरिकलाई प्रत्यक्ष आर्थिक सहायता दिने योजना अघि सारेका थिए । उनले भन्सार महसुलबाट प्राप्त हुने आम्दानी प्रयोग गरेर प्रत्येक नागरिकलाई २ हजार डलरसम्मको चेक वितरण गर्ने प्रस्ताव गरेका थिए ।
अमेरिकी राजनीतिमा चुनावी समर्थन जुटाउन नागरिकलाई प्रत्यक्ष आर्थिक लाभ दिने वाचा नयाँ भने होइन । विगतमा पनि विभिन्न राजनीतिक दल तथा नेताहरूले चुनावी अभियानका क्रममा यस्तै आर्थिक राहत तथा सहायता कार्यक्रमको घोषणा गर्दै आएका छन् ।
तर, ट्रम्पको पछिल्लो ५ हजार डलर वितरण गर्ने प्रस्तावको वास्तविक कार्यान्वयन, आर्थिक स्रोत र कानुनी प्रक्रियाबारे भने थप स्पष्टता आवश्यक देखिएको छ ।
































