काठमाडौं। स्वास्थ्य बीमा कार्यक्रम वित्तीय चुनौतीमा परिरहे पनि आगामी बजेटमा यसलाई विशेष प्राथमिकता दिइएको छ। सरकारी अस्पतालहरूले भुक्तानी नपाएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आउँदा पनि अर्थ मन्त्रालयले भने आगामी आर्थिक वर्षका लागि १२ अर्ब रुपैयाँ ‘इयरमार्क’ गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रम विस्तारै लोकप्रिय हुँदै गए पनि सरकारले नियमित रूपमा भुक्तानी गर्न कठिनाइ भोगिरहेको छ। विगतमा निजी अस्पतालहरूमा समेत लागु गरिएको यो कार्यक्रम हाल सिमित रूपमा सरकारी अस्पतालमा मात्र संचालन भइरहेको छ।
चर्चित सरकारी अस्पतालहरू, जस्तै बीर अस्पताल र टिचिङ महाराजगंज, पनि केही समय यस कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेका थिए। यी चुनौतीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षका लागि कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट 'इयरमार्क' गरिएको हो।
अर्थ मन्त्रालयका अनुसार, ‘इयरमार्क’ बजेटले कार्यक्रमलाई आउँदो वर्ष जस्तोसुकै वित्तीय संकट आए पनि रोकिँदैन भन्ने सुनिश्चितता दिएको छ। यसै सन्दर्भमा, स्वास्थ्य बीमासँगै राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी परियोजनालाई समेत १२ अर्ब रुपैयाँ इयरमार्क गरिएको छ।
देशमा बढ्दो आर्थिक चुनौती र बीमा क्षेत्रमाथि परेको दबाबलाई समेट्दै स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्व सुनिश्चित गर्न इयरमार्क बजेट अपरिहार्य रहेको मन्त्रालयले जनाएको छ ।

































